FAQs Complain Problems

समाचार

कोन्ज्योसोमको धुलिखेल घोषणा पत्र सम्बन्धि समाचार

कोन्ज्योसोमको धुलिखेल घोषणा पत्र, गाउँपालिकालाई समृद्ध बनाउने आधार निर्माण

थप समाचार हेर्न यहाँ थिच्नुहोस

ललितपुर ।  ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०७९/ ८० को वार्षिक समिक्षा र आर्थिक वर्ष २०८०/८१ प्रथम चौमासिक समिक्षा गर्दै उठेका सवालहरुलाई समेटिएर धुलिखेल घोषणा पत्र जारी गरेको छ । 

गाउँपालिकाले हालै काभ्रेको धुलिखेलमा सम्पन्न गरेको  तत्काल, अल्पकालिन र दीर्घकालिन रुपमा कार्यान्वयन गर्नुपर्ने गरी ३४ बुँदे धुलिखेल घोषणा पत्र जारी गरेको हो । गत आर्थिक वर्षको सुरुको अवस्था र आर्थिक वर्ष समाप्त भइसकेपछि भएको प्रगतिको अवस्थाको मूल्याङ्कन, गाउँपालिका भित्रका आर्थिक, सामाजिक, पूर्वाधार सुशासन तथा संस्थागत विकास, वन वातवारण र विपत व्यवस्थापन लगायतको क्षेत्रको विकास र हालको अवस्थाको मूल्याङ्कन गर्ने उद्देश्यले घुलिखेल घोषणा पत्र जारी गरिएको हो । गाउँपालिकाका विकासका लागि गर्न सकिने नविनतम संभावनाका क्षेत्रहरुको खोजी गर्ने उद्देश्यले धुलिखेल घोषणा पत्र जारी गरिएको हो । गाउँपालिकाले गत आर्थिक वर्षमा गरेका कार्यको समिक्षा र यस आर्थिक वर्षको चार महिनामा भएको कामको मूल्यांकनका आधारमा घोषणापत्र जारी गरिएको हो । 

घोषणा पत्रमा पूर्वधार, वन वातावरण तथा विपत व्यवस्थापन, सुशासन तथा संस्थागत विकास, आर्थिक, सामाजिक विकास गाउँपालिकाले आगामी दिनमा अपनाउनुपर्ने नीति र कार्यान्वयन गर्नुपर्ने कार्यक्रमहरु धुलिखेल घोषणा पत्रमा समेटिएको छ । घोषणा पत्रमा गाउँपालिकालाई समृद्ध बनाउन व्यवस्थित र प्रभावकारी नीति कार्यान्वयन गर्न सकिने विभिन्न सवालहरुलाई समेटिएको  कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले जानकारी दिए । 

“गाउँपालिका कृषि, पर्यटन, साँस्कृती, वातावरण र पूर्वाधार सुशासनयुक्त सभ्य र समृद्ध कोन्ज्योसोमको आधार” भन्ने दीर्घकालिन सोचलाई कार्यान्वयन गर्ने गाउँपालिकाले घोषणा पत्रमार्फत प्रतिबद्धता जायर गरेको छ । 

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिकाका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुख लगायत अन्य कर्मचारीहरुको अर्थपूर्ण र सक्रिय सहभागितामा व्यापक छलफल, अन्तक्रिर्या कार्यान्वयनको संभावनाका आधारमा उक्त धुलिखेल घोषणापत्र जारी गरिएको हो । 

घोषणापत्रमा निम्न विषयलाई गाउँपालिकाले प्राथकिताका साथ कार्यान्वयन गर्ने गरी योजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए । 

पूर्वाधार र वन, वातावरण तथा विपत व्यवस्थापन

गाउँपालिकाले वार्षिक क्यालेण्डरलाई अध्यावधिक गर्ने, आर्थिक वर्ष २०८३÷ ०८४ सम्म गाउँपालिकाको प्रत्येक घरमा एक घर एक धारा पुर्याउने, क्षेत्रगत विकास योजना, आवधिक योजा विस्तृत परियोजना प्रतिवेदन तथा अन्य प्रतिवेदनहरु पुनरावलोकन गर्ने, विपत व्यवस्थापन कोष र मर्मत सम्भार कोषको खर्च सम्बन्धि स्पष्ट कार्यविधि तयार गर्ने गरी घोषणा पत्रमा उल्लेख गरिएको छ । त्यस्तै सामुदायिक वन मर्मत आय बढाउन जडिवुटी खेती लगायतको अध्ययन र अनुसन्धान गरी सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्य र साझोदारीमा “ग्रीन पार्क र जंगल पार्कको” अवधारणा अगाडि बढाउने, फोहोर मैला व्यवस्थापन रोजगार सेवा केन्द्रसँग समन्व्य गरी फोहोर मैला व्यवस्थपनको कार्य अगाडि बढाउने गरी  धुलिखेल घोषणा पत्रमा उल्लेख गरिएको छ । 

सुशासन तथा संस्थागत विकास तर्फ 

आन्तरिक राजश्व संकलन प्रक्रियालाई वडा स्तरसम्म नै विद्युतीय भुक्तानी प्रणालीमा लैजाने, कर्मचारीलाई उपयुक्त र समय सापेक्ष पुनर्ताजगी तालिम दिने,  कर्मचारी –कर्मचारी, कर्मचारी र जनप्रतिनिधिबीच नियमित सम्पर्क र समन्वयमा काम गर्ने, अध्यक्षसँग प्रमुख प्रशाकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृतसँग शाखा प्रमुख र वडा सचिवसँग कार्य सम्पादन करार गर्ने, चौमासिक रुपमा सार्वजनिक सुनुवाइ र समिक्षा कार्यक्रमलाई निरन्तरता दिने, छाप लेटर प्याड र साइनबोर्डमा एकरुपता कायम गरी प्रयोग गर्ने  गरी धुलिखेल घोषणा पत्रमा उल्लेख गरिएको अध्यक्ष लामाले बताउनुभयो ।  शिक्षक कर्मचारीलाई कर्मचारी संगठन भित्र राख्ने र संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)  गर्ने, व्यावसायलाई  करको दायरामा ल्याउनका लागि सबै वडाहरुमा कर सचेतना कार्यक्रम सञ्चालन गर्ने, चौमासिकरुपमा जनप्रतिनिधि र कर्मचारी समन्वय बैठक बस्ने, कार्यसम्पादनका आधारमा राष्ट्रसेवकलाई पुरस्कृत र दण्डको व्यवस्थालाई प्रभावकारी साथ कार्यान्वयन गर्ने, न्यायिक समितिको कार्यसम्पादनलाई परिणामुखी बनाउनलाई मेलमिलापकर्ताहरुको क्षमता विकास गराउने र गाउँपालिका र मातहतका कार्यालयहरुले सम्पादन गरेका कार्यलाई वेभसाइड मार्फत अद्यावधिक गरी सार्वजनिक गर्ने घोषणा पत्रमा उल्लेख गरिएका छ  । 

आर्थिक विकास तर्फ

संभावित बजारको आँकलन गरी तुलनात्मक रुपमा कम लागतका कृषि तथा पशुजन्य सामाग्री उत्पादन विविधिकरण र बजारिकरणकलाई मूल्य श्रृखलासँग जोडने,  कृषि तथ्यांक, भौगोलिक अवस्था, सामािजक अवस्था अनुसार पकेट क्षेत्र निर्धारण गरी मागमा आधारित अनुदानको कार्यक्रम सञ्चालन गर्ने, कृषि तथा पशुपालनमा भवितव्यको रुपमा आउने प्राकृतिक प्रकोप व्यवस्थापनमा विशेष ध्यान पुर्याउने व्यावसायिक क्षेत्रमा खपत हुने दक्ष जनशक्ति उत्पादन तथा व्यवस्थापन गर्ने गरी धुलिखेल घोषणा पत्रले जोड दिएको छ । 

त्यस्तै स्थानीय स्रोत र साधनमा आधारित लघुउद्यम विकास कार्यक्रम तर्जुमा गर्ने, दिगो विकासका लागि टेवा पुग्ने गरी स्थानीय स्तरमा दिगोरुपमा सञ्चालन हुन सक्ने रोजगारीका लागि अवसहरु सृजना गर्ने, गाउँपालिकाको समग्र आर्थिक विकासका लागि कृषि, पर्यटन, उद्यम विकास र रोजगार सम्बन्धि कार्य गर्ने शाखा, उपशाखा र केन्द्रसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने  र निश्चित योजनाहरुको माइल स्टोन तोकी परियोजनाहरु सञ्चालन गर्ने घोषणा पत्रमा व्यवस्थापन गरिएको छ । 

सामाजिक विकास तर्फ

गर्भ जाँच गर्न आएका गर्भवती महिलालाई पहिलो र अन्तिम भेटमा (आठौं) प्रोत्साहन स्वरुप दुई पटक गरी  दुई सयको रिचार्ज उपलब्ध गराउने , बर्थिङ्ग सेन्टरहरु मर्ज गर्ने, संम्भव भएसम्म पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी प्रत्येक वडामा वर्षमा एक  हप्ताको विशेषज्ञ सेवा उपलब्ध गराउने , बालविवाह न्युनिकरण गर्नका लागि प्रोत्साहनको व्यवस्था गर्ने, वीग स्कुलको अवधारणालाई थप अध्ययन गरी सार्थकता प्रदान गर्ने , विषयगत शिक्षक दरबन्दीको व्यवस्थापन गर्ने, जनताको घरदैलोमै पुगेर सेवा प्रवाह संभव भएसम्म प्रत्येक वडामा वर्षको एक पटक एकिकृत घुम्ती शिविर सञ्चालन गर्ने योजना गाउँपालिकाले बनाएको छ । 

धुलिखेलमा सम्पन्न जनप्रतिनिधि र कर्मचारीको संयुक्त बैठकपछि जारी गरिएको घोषणा पत्रमा गाउँपालिकाको हालसम्मको विकासको अवस्स्थाको लेखाजोखा भएको,विभिन्न विषयगत शाखा, वडा कार्यालयहरुमार्फत भएका कार्यहरुको प्रगति अवस्थाको जानकारी भएको, गाउँपालिकाको विकासको अवसरका क्षेत्रहरुको पहिचान भएको, गाउँपालिकाको विकासका सन्दर्भमा देखिएका समस्या र चुनौति पहिचान हुनुलाई उपलब्धिको रुपमा लिएको छ । अध्यक्ष लामाले भन्नुभयो “ धुलिखेल घोषणा पत्र जारी भएपछि गाउँपालिकाको विकासका लागि गर्न सकिने नविनतम संभावनाहरुको खोजी गर्ने कार्यको आधार तयार भएको छ ।”

अब घोषणापत्रलाई क्रमिकरुपमा कार्यान्वयन गर्दै जाँदा अबको चार वर्षमा गाउँपालिकालाई समृद्ध बनाउन सकिने कुरामा कुनै दुई मत नभएको लामाले स्पष्ट पार्नुभयो । 

गाउँपालिकाले आफ्ना विकास र समृद्धिका लागि वर्तमान अवस्थाको लेखाजोखा गरी सोको आधारमा योजना कार्यक्रम तयार गर्ने सुझाव समेत संकलन गरिएको छ । 

आर्थिक वर्ष: